फाइल तस्बिर
मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौँसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी-काठमाडौँ सिधा बस सेवा सुरु भएको हो ।
क्षेत्रीय कार्यालय नेपालगन्ज रहेको भेरी यातायात र बागेश्वरी यातायातले संयुक्त रूपमा गमगढी बजारमा कार्यालय स्थापना गरी शुक्रवार विधिवत् रूपमा उद्घाटन गरेका छन्। यी यातायतले अब गमगढीदेखि सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म बस सञ्चालन गर्नेछन्।
मुगु २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए।
राजधानीसँग सिधै बस सेवा सुरु भएसँगै नेपालकै ठुलो ताल रारा र हिन्दुहरूको पवित्र तीर्थस्थल छायानाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ।
संवाददाता । आइतबार, जेठ ०७, २०८० मा प्रकाशित