Karnali Media
२०८३ भदौ १७ , बुधबार

कर्णाली कोरिडोर चौध दिनपछि खुल्यो



कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो ।

पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड पूर्ण रुपमा सञ्चालन गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । उनका अनुसार पुलको दक्षिणतर्फको दुई वटा खाल्डा तथा सडक ‘पिसिसी’ प्रविधिबाट मर्मत गरिएको छ ।


“ठूला मालबाहक सवारीसाधन पिसिसी सडकबाटै आउँजाउ गर्न थालेका छन्”, प्रजिअ माझीले भने, “जोखिम ठाउँमा गरिएको पिसिसी प्रविधिबाट मर्मत गरिएकाले छोटो समयमा नै गाडी चलाउन मिलेको हो ।” पुलको आसपासको सडक निकै जोखिम रहेकाले सोलिङ ९नयाँ तह लगाएर० र पिसिसी गरिएको उनको भनाइ थियो । पुलको छेउमा रहेका ढुङ्गाका कारण सवारीसाधन दुर्घटनाको जोखिम थियो । प्रजिअ माझीले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक मर्मत गरिएको बताए ।

सडक डिभिजन कार्यालय जुम्लाले खोलेको ठेक्कामा कुनै निर्माण कम्पनीको ठेक्का नपरेपछि कार्यालयले नै सडक मर्मत गरेको कार्यालय प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेठ १४ गते आइतबार