सुर्खेत । कर्णाली प्रदेशमा अझैपनी विभिन्न हिंसाहरु व्यप्त रहेका छन् । शिक्षा, स्वास्थ्य र सचेतनाको कमीले कर्णालीमा परम्परादेखि चल्दै आएका विभिन्न हिंसाले बेला बेलामा भयाभह अवस्था समेत उत्पन्न हुने गरेका छन् ।
वीरेन्द्रनगरमा आज कर्णालीका यस्तै समस्याका बारेमा विभिन्न जिल्लाका युवाहरुसंग छलफल भएको छ । भिएसओ नेपाल तथा एक्टिभ परियोजनाको आयोजनामा भएको कार्यक्रममा युवाहरुले कर्णालीमा प्रमुख सामाजिक समस्याको रुपमा रहेका लैङ्गीक हिंसा, बालबिबाह, छाउपडी प्रथाका बारेमा यहाँको वर्तमान अवस्था, यसबाट परेको प्रभाव, न्यूनिकरणका उपाय र युवा तथा युवा संस्थाहरुले गरेका प्रयासका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै बास नेपाल कर्णाली प्रदेशका संयोजक धिरेन्द्र शाहीले कर्णाली प्रदेशका विभिन्न जिल्लामा अझैपनि बालबिबाह र महिला हिंसा व्यप्त रहेको बताए । यसको न्यूनिकरणका लागि समुदाय स्तरबाटै लाग्नुपर्ने बताउँदै समाजमा पछि परेका बर्गहरुमा यस्ता समस्याहरुले झनै विकराल रहेको बताए । यसको न्यूनिकरणका लागि आफु तथा आफु संलग्न विभिन्न युवाहरुको समुहबाट काम गर्दै आएको पनि उनले बताए ।यस्तै, कार्यक्रममा सहभागिहरुले लैङ्गीक हिंसा पनि कर्णालीको एक प्रमुख समस्या रहेको बताए । हिंसाको स्वरुप फेरिएपनि हिंसा अझै रहेको बताउँदै लैङ्गीक हिंसाको न्यूनिकरण थप जटिल बन्दै गएको बताए । सामाजिक संजालको प्रयोग बढेसँगै महिला हिंसाले अर्कै स्वरुप लिएको पनि सहभागिको भनाइ थियो ।
छाउपडी प्रथा कर्णालीका सहरहरुबाट न्यूनिकरण भएको देखिए पनि गाउँघरमा अझै उस्तै रहेको कार्यक्रममा सहभागि युवाहरुको भनाइ थियो । छाउपडी प्रथाको पहिलेजस्तो विकराल रुप नरहेको भएपनि कर्णालीका हिमाली जिल्लाहरुमा यो प्रथा व्यप्त रहेको र अझैपनि महिलाहरु महिनावारी हुँदा घरभन्दा बाहिर बस्नुपर्ने बाध्यता रहेकालेबारे पनि कार्यक्रममा छलफल भएको थियो । कर्णालीमा विद्यमान यस्ता समस्याहरुको समाधानका लागि युवाहरुले नै सक्रिय भएर लाग्नुपर्ने युवाहरुको निष्कर्ष थियो ।
संवाददाता । बिहिबार, जेठ १८, २०८० मा प्रकाशित