जुम्लाको तिला गाउँपालिका १ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् ।
आज बिहान ६ बजेतिर सो गाउँपालिका ६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
बेपत्ता हुनेमा तिला ६ निवासी घोडे गाउँका कर्णबहादुर रोकायाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
तिला १ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।
तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।
संवाददाता । मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित