अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।
राजधानी हरारेमा नेपालले आफ्नै समूहमा रहेको अमेरिकासँग प्रतिस्पर्धा हुन लागेको हो । पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्वपूर्ण छन् ।
अमेरिकासँग आज हुने खेल जितेमा सुपर सिक्समा पुग्ने नेपालको संभावना कायमै रहने छ । वेस्ट इन्डिजसँग पराजित भएको अमेरिकालाई पनि बाँकी खेल जित्नै पर्ने दवाव छ ।
जिम्वाबे विरुद्ध पराजित हुँदा पनि राम्रो प्रदर्शन गरेको अमेरिकालाई पराजित गर्ने विश्वास नेपाली टोलीको छ । छनोट अन्तरत नै नेपालले असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध खेल्नेछ भने असार ९ गते नेदरल्याण्डस विरुद्ध खेल्नेछ ।
सबै खेलहरु नेपाली समय अनुसार अपरान्ह पौने १ बजे शुरु हुनेछ । सहभागी १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए मा नेपाल सहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका, र वेस्टइन्डिज छन् ।
समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुदैछ ।
संवाददाता । मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित