राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ।
वार्षिकोत्सवको अवसरमा पार्टी स्थापनादेखि हालसम्मको अवस्थाबारे समीक्षा गर्न बिहान साढे ९ बजे केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बोलाइएको रास्वपा सांसद मनिष झाले जानकारी दिए। यस्तै रास्वपाले दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ।
यसअघि बसुन्धारामा रहेको पार्टी कार्यालय आजैदेखि बालाजुमा स्थानान्तरण गरिएको हो। चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।
आजै साँझ ७ बजे सम्पूर्ण रास्वपा सदस्यले ७७ वटै जिल्लामा ७७ पटक घण्टी बजाउने पार्टीले जनाएको छ। पार्टी स्थापनाको छोटो समयमै रास्वपा राजनीतिक वृत्तमा उदाउन सफल भयो।
असारमा पार्टी दर्ता गरि मंसिर ४ को निर्वाचनमा सहभागी भएको रास्वापाले २० सिट जितेको थियो। त्यसपछि गत बैशाखमा भएको उपनिर्वाचनबाट थप एक सिट थपेर २१ सांसदसहित संसदमा सशक्त उपस्थिती जनाइरहेको रास्वपा सुरुमा केही समय सत्तामा रहे पनि अहिले प्रतिपक्षमा छ।
संवाददाता । बिहिबार, असार ०७, २०८० मा प्रकाशित