सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
आइतबार नगरपालिकाले १३ औं नगरसभा मार्फत नगरपालिकाले चालु आर्थिक बर्षभन्दा झण्डै १ अर्ब बढीको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै नगरउपप्रमुख निलकण्ठ खनालले चालुतर्फ १ अर्ब ८३ करोड ४६ लाख ९९ हजार, पुजिगततर्फ १ अर्ब २५ करोड ८९ लाख ९ सय ६७ र वित्तियतर्फ ३ करोड २५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।
‘शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर, स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मुल नाराका साथ नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेट ल्याएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरेन्द्रनगरका वर्तमान आवश्यकता र दिगो विकासलाई ध्यानमा राखेर बजेट ल्याएको बताईन् ।
नीति तथा कार्यक्रममा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माणको योजना पनि नगरपालिकाले अघि सारेको छ । यस्तै नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि आफ्नै युट्युव च्यानल सञ्चालन गर्ने योजना पनि लिएको छ ।
संवाददाता । आइतबार, असार १०, २०८० मा प्रकाशित