दैलेखमा बर्षातका कारण सिंचाइ योजनाको ड्याम भत्किदा एकजना बालकको मृत्यु र २ जना घाइते भएका छन् । जिल्लाको आठबीस नगरपालिका–५ मा निमार्णाधीन रहेको भित्रीखोला सिंचाइ योजनाको ड्याम भत्किँदा ड्यामबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको हो ।
ड्याम भत्किदा खसेर आएको ढुङ्गा लागेर खोलामा पौडी खेलिरहेका आठबिस नगरपालिका–५ बस्ने बिर्खबहादुर थापाका अन्दाजी १४ वर्षीय छोरा उमेश थापाको आज दिउँसो ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी किशोर लम्सालले आठविस–५ का वडा अध्यक्ष बजिरसिंह विकले ड्यामबाट खसेको डुङ्गा लागेर बालकको मृत्यु भएको जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको बताए। उनले प्रहरीलाई घटनास्थलसम्म पुग्न समस्या भएको जानकारी दिए।
‘रातिको समयमा प्रहरी घटनास्थल पुग्न सक्ने अवस्था छैन, पानी परेका कारणले समस्या छ, ड्यामबाट खसेको डुङ्गा लागेर एक जना बालकको मृत्यु भएको सूचना पाएका छौं, प्रहरी घटनास्थलमा भोलि बिहान मात्रै पुग्छ होला’, प्रहरी प्रमुख लम्सालले भने।
संवाददाता । बुधबार, असार १३, २०८० मा प्रकाशित