जुम्लामा वडाबाट नुन वितरण गर्न सुरु गरिएको छ । नुन नपाएको भन्दै असार ३१ गते नागरिकहरूले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालय तोडफोड गरेका थिए ।
त्यसपछि वितरण प्रणालीलाई सहज बनाउन वडाबाटै नुन वितरण गर्न सुरु गरिएको हो । वडा कार्यालयबाट स्थानीयलाई नुन वितरण गर्न सुरु गरिएको साल्ट ट्रेडिङ्ग जुम्लाले जनाएको छ । प्रति घरधुरी ३ केजीका दरमा नुन वितरण भइरहेको जनाइएको छ ।
साल्ट ट्रेडिङ्ग जुम्लाका प्रमुख खगेन्द्र मल्लले तातोपानी गाउँपालिकाका १–७ वडा, चन्दनाथ नगरपालिकाका १, ७, ८ र ९ नम्बर वडामा नुन पठाइसकिएको बताए । यस्तै गुठिचौर गाउँपालिकाका २ वटा वडामा पनि नुन पठाइसकिएको उनले बताए । साल्ट ट्रेडिङ्गबाट वडाहरुले ३ सय क्विन्टल नुन लिइसकेका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुनका लागि भिड लाग्नुपर्ने बाध्यता हटाउनका वडाबाटै नुन वितरण गरिएको बताए ।
संवाददाता । मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित