उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपालको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको पदस्थापन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई बलियो बनाउन कानून व्यवसायीको भूमिका रहेको बताएका हुन् ।
“नेपालको लोकतान्त्रिक आन्दोलनमा डिएलएको ऐतिहासिक भूमिका रहेको छ, यसलाई कांग्रेसले उच्च मूल्याङ्कन गर्दै आएको छ”, उनले भने । पार्टीका उपसभापतिसमेत रहनुभएका खड्काले डिएलएमा आबद्ध कानून व्यवसायीलाई कांग्रेसले आगामी दिनमा उचित मूल्याङ्कन गर्ने बताए । आगामी दिनमा पार्टी डिएलएसँग सरसल्लाह र सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।
कांग्रेस सांसद एवं पूर्वराज्यमन्त्री दीपक खड्काले डिएलएले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई ठूलो सहयोग पु¥याएको बताए । कांग्रेस सङ्खुवासभाका सभापतिसमेत रहेका सांसद खड्काले न्यायाधीश नियुक्ति गर्दा डिएलएसँग परामर्श गरेर अगाडि बढ्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । पार्टीलाई आवश्यक पर्ने कानूनी परामर्शमा डिएलएका साथीहरूले निःशुल्क गर्नसमेत उनले आग्रह गरे ।
संवाददाता । शुक्रबार, साउन १२, २०८० मा प्रकाशित