सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १६ मा खलाकाटेदेखि वडा कार्यलयसम्म जोड्ने सडकको गडेले खोलामा बनेको पुलले सडकका किनारहरु नजोड्दा स्थानीयहरुलाई आवातजावतमा सास्ती भएको छ ।
यो पुललाई लिएर अहिले आलोचना पनि भइरहेको छ । वीरेन्द्रनगर १६ काे गडेले खोलामा २९ लाख ४४ हजार ६ सय ८८ रुपैयाँ लागतमा बनेको यो पुलको निमार्ण कार्य सम्पन्न भएको करिब डेढ महिना वितिसक्दा पनि पुलले सडकका दुई किनारलाई जोडेको छैन । २०८० बैशाख १७ गते यो पुल निमार्णको सम्झौता भएर चामुण्डा निमार्ण सेवाले यो पुलको निर्माण सुरु गरेको थियो । यो पुल जेठ ३२ गते निमार्ण सम्पन्न भएको भनिएको छ । यदपी यो पुल अझै पनि संचालन हुने अवस्थामा छैन ।
यो पुलको संरचनालाई लिएर आलोचना भइरहदा बर्षाको समयमा यस वडाका स्थानीयहरुले आवतजावतमा निकै सास्ती भोगेको बताउँछन् । पुल निमार्ण कार्य सम्पन्न भएको भनेर भुक्तानी समेत भईसक्दा पुलको किनारमा भने ठुला खाल्डाहरु रहेका छन् । निमार्ण कम्पनीको इस्टिमेटमा पुल छेउमा बनेका खाल्डाहरुलाई पुर्ने पनि भनिएको छ । सम्झौता सकिएर निमार्ण कम्पनीले भुक्तानी समेत लिइसक्दा पुलले सडकका किनारहरु नजोड्दा वीरेन्द्रनगर १६ को विकास निमार्णलाई नै गिज्याइरहेको छ ।
यता वीरेन्द्रनगर १६ का वडाअध्यक्ष डण्ड बहादुर बिकले पुल निमार्ण गर्दा केही अवरोध आउँदा यस्तो भएको बताएका छन् । उनले भने ‘पुलको छेउमा रहेका दुबै खाल्डाहरु पुर्नलाई माटो भर्नुपर्ने हुन्छ । निमार्ण कार्य भईरहदा स्थानीयले उक्त क्षेत्रमा धानको विउ राखिरहेको र पानीको कुलोमा असर पर्ने हुँदा खाल्डाहरु पुर्ने काम गर्न नसकेको हो’ । कर्णाली मिडियालाई उनले भने । ‘पुललाई संंचालनमा ल्याउन छेउमा रहेको कमेरीको बुटा फाल्नुपर्ने हुन्छ । तर बनले उक्त बुटा नफाल्न आदेश दिएको छ । यसकारण पुल पूर्ण रुपमा संचालन हुन सकेको छैन । केही दिनमा सडकलाई घुमाएर पनि पुल संचालनमा आउँछ ।’
यस्तै वडाका प्राविधिक दिपक राज घिमिरेले स्टिमेट अनुसार काम पुरा नै नगरि भुक्तानी लिएको र निमार्ण सम्पन्न भएको बोर्ड राखेको विषयमा उनले ९८ प्रतिशत काम सम्पन्न भएको र खाल्डा पुर्ने बजेट बाँकी राखेर भुक्तानी दिएको बताए । यदपी वडाअध्यक्षले भने उक्त खाल्डा वडाले केही दिनमा आफैँ पुर्ने बताएका छन् ।
संवाददाता । बुधबार, साउन १७, २०८० मा प्रकाशित