बिहान चाँडो उठ्नका लागि राति सातदेखि नौ घन्टाको पूरा निद्रा लिन जरुरी छ । रातको समय चाँडै सुत्नुभयो भने अझै राम्रो हुन्छ । यसले गर्दा तपाईं पर्याप्त निदाउन सक्नुहुन्छ र निद्रा पूरा भएपछि उठ्ने संकेत शरीर आफैँले दिन्छ ।
कतिपटक हामी बिहान उठ्नेबारे सोच्छौँ, तर ढिला उठ्छौँ । अलार्म बजेपछि त्यसलाई बन्द गर्छौं । कोही उठाउन आयो भने रिसाउँछौँ । यदि हाम्रो इच्छाशक्ति बलियो भयो भने यस्तो अवस्थाबाट बच्न सकिन्छ ।
रातको समय भोजन कम लिनुपर्छ । अधिक खानाले पेट भारी हुन्छ र निद्रा राम्रोसँग लाग्दैन । र, ढिला निद्रा परेपछि बिहान पनि ढिलै उठिन्छ । रातमा सुत्नुभन्दा तीन घन्टा पहिले खाना खानु राम्रो हुन्छ । त्यस्तै, रातको समय चिया, कफी पिउने बानी पनि छोड्नुस् ।
कोही मानिस बिहान उठ्न धेरै मुस्किल छ भन्ने सोच्छन् । यस्तो डरले तपाईंको दैनिक रुटिन खराब भइरहेको हुन्छ । केही दिनसम्म मुस्किल भए पनि बिस्तारै सहज हुँदै जान्छ भन्ने याद गर्नुस् । दुई हप्तामा तपाईंको शरीर बिहान उठ्नका लागि मज्जाले तयार भइसकेको हुन्छ । त्यसैले धैर्य राख्नुस् ।
यदि आठ घन्टाभन्दा लामो समय सुतेर उठ्दा पनि तपाईंको शरीर थाकेको हुन्छ, वा तपाईंलाई भारी महसुस हुन्छ भने कुनै स्वास्थ्य समस्या देखिएको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुस् ।
संवाददाता । शुक्रबार, साउन १९, २०८० मा प्रकाशित