देशभर आंशिकदेखि सामान्य बदली भई हाल कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालमा अहिले मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पू्र्वानुमान छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ ।
भोलि आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार पनि देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।
संवाददाता । शनिबार, साउन २०, २०८० मा प्रकाशित