सुर्खेत पश्चिमको चौकुने गाउँपालिकामा ४२ दिनदेखि यातायात व्यवसायीले यातायातका साधन सञ्चालन नगर्दा गाउँपालिकाका अध्यक्ष खड्क बिकले यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउने टिप्परमै यात्रा गराएका छन् ।
बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिपरमै यात्रा गराउन थालिएको गाउँपालिका अध्यक्ष खड्क विक (विवश) ले बताए।
‘यहाँ गाडी आउन छोडेको पनि ४२ दिन भइसक्यो। बाटो पनि राम्रो छ। बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन,’ अध्यक्ष विकले भने, ‘केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन्। बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि पालिकाको टिपरमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालेका हौं। अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारीमा छौं।’
टिपरमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनले बताए। यातायातको व्यवस्था नभएसम्म पालिकाकै टिपर र तेल खर्च गरिने उनको भनाइ छ।
आज झण्डै ८० जना यात्रुहरुले टिप्परमा यात्रा गरेका छन् । अहिले टिप्पर चौकुने गाउँपालिकाबाट वीरेन्द्रनगरका लागि छुटिसकेको छ ।
संवाददाता । शनिबार, साउन २०, २०८० मा प्रकाशित