नेपालमा हाल मनसुनी वायुको साथै भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सातवटै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
संवाददाता । बिहिबार, साउन २५, २०८० मा प्रकाशित