जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् । एक वर्षअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी कठायतले आफूलाई कांग्रेस प्यारो लागेर नै पार्टी प्रवेश गरेको बताए ।
एक कार्यक्रममा बोल्दै मेयर कठायतले जुम्लामा आफूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जस्तो बन भन्नेहरु धेरै रहेको पनि सुनाए । उनले भने, ‘मलाई धेरैले बालेन जस्तो बन् न भने । मैले के भन्ने गरेको छु भने, स्थानीय सरकारमा जनप्रतिनिधिको सरुवा हुँदैन । सरुवा गर्ने हो भने मलाई काठमाडौं पठाऊँ, बालेनलाई जुम्ला ल्याऊँ । काठमाडौंमा हजारौं जनशक्ति, खर्बौं बजेट छ । हामीसँग केही पनि छैन । अनि कसरी बालेनजस्तो बन्ने ?’
मेयर कठायतले आफू अन्तरात्मादेखि नै चन्दननाथको विकासमा लागेको पनि बताए । उनले भने, ‘कोही पैसा खाने भनेर नेता बनेका हुन्छन्, म अन्तरात्मादेखि नै केही गर्छु भन्ने नेता हुँ । देशभरिका ७५३ पालिकामध्ये चन्दननाथ उत्कृष्ट छ । ७०, ७५ प्रतिशत भ्रष्टाचार हटाउन सफल भएका छौं । जडीबुटी, पर्यटन, सरसफाइबाट चन्दननाथलाई स्वीटजरल्यान्ड बनाउन सकिन्छ भनेर लागेको छु ।’ स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर जुम्लीलाई जिल्ला फर्काउने मिसनमा आफू रहेको पनि उनले सुनाए ।
संवाददाता । बिहिबार, साउन २५, २०८० मा प्रकाशित