काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो ।
त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताइएको छ । प्राधिकरणको ३८ औं वार्षिक उत्सवमा बोल्दै प्रवन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्शानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन सुरु गरेको बताउनुभयो । उहाँले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुन:संरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको जानकारी दिनुभयो ।
घिसिङले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताउनुभयो । उहाँले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताउनुभयो । उहाँले प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताउनुभयो ।
घिसिङले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताउनुभयो । आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको उहाँले जानकारी गराउनुभयो ।
संवाददाता । शनिबार, भदौ ०२, २०८० मा प्रकाशित