सुर्खेत । अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल खेलाडी नन्दा बस्याललाई सुर्खेत वीरेन्द्रनगर ४ मा रहेको नमुना युवा क्लवले सम्मान गरेको छ ।
विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उनले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । पदक विजेता बस्याललाई आज नमुना युवा क्लवले सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै नमुना युवा क्लवका अध्यक्ष गणेशमान खनालले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय पदक मार्फत नेपाललाई विश्वमा चिनाउन सफल भएकोले समग्र सुर्खेतको गौरव उच्च भएको बताए । आजभन्दा २५–३० बर्ष पहिले खेल क्षेत्रमा लाग्दाको अनुभव सम्झदै उनले आज यो स्थानमा पुगेर अनेकौ चुनौतीका बीच सवर्ण पदक जित्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
जुलाई २१ देखि २४ सम्म दक्षिण कोरियामा विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आयोजना भएको थियो । सोही प्रतियोगितामा नेपालको तर्फबाट बस्यालले स्वर्ण पदक जितेकी थिइन् । सम्मान कार्यक्रममा बोल्दै उनले नमुना युवा क्लवको सम्मानले आगामी दिनमा खेल क्षेत्रको विकासमा लाग्न थप हौसला मिल्ने बताईन् । साथै उनले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि मात्र नभएर महिलाको लागि पनि हुने बताईन् । महिलालाई आत्मरक्षाको लागि खेलकुदले सघाउने उनको भनाई छ ।
सम्मान कार्यक्रममा नमुना युवा क्लवका पदाधिकारी, वीरेन्द्रनगर। ४ का वडाअध्यक्ष शेर बहादुर केसी, भैरव माद्यामिक विद्यालयका अध्यक्ष तथा नमुना युवा क्लवका सल्लाहकार गंगाराम तिमल्सेना लगायतको सहभागिता रहेको थियो । यस्तै कार्यक्रमको संचालन नमुना युवा क्लवको सचिव रमेश खनालले गरेका थिए ।
संवाददाता । सोमबार, भदौ ०४, २०८० मा प्रकाशित