सुर्खेत । कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा लियो क्लब अफ भैरबस्थानले दिप प्रज्वलन गरेर कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस मनाएको छ ।
कर्णाली प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए । कर्णाली प्रदेश सहिद दिवसका अवसरमा आज कर्णाली हिरा, लियो क्लब अफ भैरब स्थानको आयोजना तथा वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०२३ को सहकार्यमा सुर्खेतको सहिद पार्कमा दिप प्रज्वलन गरि सहिद दिवस मनाएको हो ।
कर्णाली प्रदेशसभा सामाजिक बिकास समितिका सभापति घनश्याम भण्डारीले दिप प्रज्वलन कार्यक्रममा प्रादेशिक सहिद पार्कमा कर्णाली प्रदेश प्राप्तीको क्रममा सहादत प्राप्त ४ सहिदको प्रतीमा राख्नु पर्ने धारणा राखेका छन् । उनले सहिदको नाममा स्थापना भएको सहिद पार्कमा सरकार भन्दा पनि कर्णालीका नागरिकले सहिदलाइ सम्झेर पार्कमा पुग्ने गरेको बताए । कर्णाली प्रदेश प्रदेश प्राप्तिको आन्दोलनको मर्म र सहिदको सपना पूरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाई छ ।
नेपाली काङग्रेस नगर कमिटिका सभापति उपेन्द्र खड्काले सहिदहरु र सहिदका परिवारको लागि सरकारले व्यवस्था गर्नुपर्ने बताउदै भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौगोलिक विकासमा पछाडि रहेको कर्णालीलाई तीव्र सामाजिक, आर्थिक र भौतिक विकास गरि अघि ल्याउन जरुरी रहेको बताएका छन् ।
वीरेन्द्रनगरमा भएको सहिद पार्कको स्तरोन्नतिको लागि संघिय सरकारको कुनै चासो नभएको बताउदै प्रदेशको बजेट पनि फ्रिज हुने गरेको भैरब सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष अमर कार्कीले बताएका छन् ।
संवाददाता । सोमबार, भदौ ०४, २०८० मा प्रकाशित