केही दिनदेखि परेको लगातारको वर्षा कम हुँदै गएको छ । पश्चिम क्षेत्रबाट मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजदेखि मौसममा थप सुधार हुने मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘लगातारको वर्षा रोकिने छ, तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने छ,’ उनले भने ।
हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा हावा-हुरीको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ।
संवाददाता । सोमबार, भदौ ११, २०८० मा प्रकाशित