तस्बिरः महावु धाम दैलेख
आज जनैपूर्णिमा एवं रक्षा बन्धन । देशभरका शक्तिपीठ र घरघरमा ब्राह्मण, पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने प्रचलन छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सत्य सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
कर्णाली प्रदेशका विभिन्न स्थानमा आजको दिन विभिन्न मन्दिर र शक्ति पिठहरमा धार्मिक मेला लाग्ने गर्दछ । आजको दिन यस्ता स्थानमा पुजाआजा गर्नाले मनोकामना पुरा हुने धार्मिक विश्वास पनि रहदै आएको छ । आजको दिन सुर्खेतको देउती बज्यै, दैलेखको मालिका मन्दिर र महावु धाम लगायतका स्थानमा धेरै भक्तजनहरु पुगेका छन् ।
संवाददाता । बिहिबार, भदौ १४, २०८० मा प्रकाशित