नेपाली सेनाको सुर्खेतस्थित उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी कृष्णदेव भट्टले नयाँ तालिम प्राप्त गरेका सिपाहीहरुलाई बधाई तथा शुभकामना दिदैँ ‘सिपाही बलियो भए सेना बलियो हुने, सेना बलियो भए देश बलियो’ हुने भएकाले सिपाहीको काँधमा राष्ट्र र जनता तथा नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको बताएका छन् ।
यस्तै उनले ९ महिना तालिम प्राप्त सैन्यबाट ‘सिपाही’ दर्जामा नियुक्त भएका सिपाहीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको गौरवमय छवि रहेकोले त्यो गौरव कायम राख्न निर्देशन दिएका छन् । उत्तरपश्चिम पृतना हेडक्वाटरमा संचालन भएको सि.स २ तथा कालीबहादुर गणमा संचालित सि.सं. ३५ सैन्य आधार तालिमको दलेल कवाज कार्यक्रममा नयाँ सैन्यहरुलाई सम्बोधन गर्दै पृतनापति उपरथी भट्टले ‘माटोले माग्दैन आफैले दिनु पर्छ’ भन्ने यथार्थलाई मनन् गर्न सुझाव दिएका छन ।
पृतना हेडक्वाटरमा संचालन भएको सि.सं. २ बाट कन्चनपुरका गोपालसिंह भण्डारी र कालीबहादुर गणबाट सुर्खेतका बिमल बुढा सर्वोत्कृष्ट घोषित भएका थिए भने तालिमका विभिन्न विधामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको काली बहादुर गणका गणपति सुर्दशन सिलवालले बताए । १ सय ८८ जना सिपाहीले सैनिक जीवनको सुरु गरेका हुन ।
संवाददाता । सोमबार, भदौ २५, २०८० मा प्रकाशित