भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा जलदान, सिदादान र पिण्डदान गर्न आएका भक्तजनको भीड लागेको छ ।
बुबा नहुनेहरूले यहाँ आएर आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ अनुकूलको मिठाइ, फलाहार, वस्त्र तथा प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचन अनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास रहेको छ ।
यस दिनमा घरघरमा कुश भित्र्याएर र कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ ।
वर्षका सबै औँसी पितृको रहे पनि सबै औँशीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने मान्यता रहेको छ । तस्बिरः हरिराम भेटुवाल/रासस
संवाददाता । बिहिबार, भदौ २८, २०८० मा प्रकाशित