Karnali Media
२०८३ असार १८ , बिहीबार

आज हरितालिका तीजको दर खाने दिन



हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ । तीजको दिन भोलि (सोमबार) महिलाहरु व्रत बस्ने भएकाले आज वर्तालुहरुले दर खाने चलन छ । आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुलाउने गर्छन् । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि अघिल्लो साँझ नेपाली हिन्दु महिलाहरुले दर खाने परम्परा छ ।

दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ ।

दरमा पौष्टिक तत्व भएका खानेकुरा खाने चलन छ । तर विज्ञले भने आफ्नो स्वास्थ्यको ख्याल गरेर दर खान सुझाव दिएका छन् । राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेशको पूरा गरी साँझ सूर्यलाई अर्घ्य दिएरमात्र खाने परम्परा छ ।

आज दर खाने र भोलि हरितालिका तीज परेकाले माइतीघरमा तीज मनाउन महिलाहरु घरगाउँतिर जाने क्रम पनि बढेको छ ।


पछिल्लो समय तीज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ । दिदीबहिनी भेटघाट गर्ने, दुःख(सुख एवं आपसी अनुभवलाई गीतमार्फत् व्यक्त गर्ने र मिठा परिकार खाएर तीज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ।

नेपाली हिन्दू महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँघरदेखि सहरसम्मै रौनक देखिन थालेको छ । दर खाने दिन आज भएपनि सहर बजारमा भने केही दिनअघिदेखि नै महिलाहरुले सामूहिक दर कार्यक्रम आयोजना गरी नाचगान तथा रमाइलो गरिरहेका छन् ।

हिमालयपुत्री पार्वतीले व्रत बसेर महादेव पति पाएको धार्मिक मान्यतासँगै तीज मनाउने गरिएको हो । तीजका दिन महिलाहरु निर्जल, निराहार उपवास बस्नुपर्ने मान्यता छ । तीज नेपालका साथै भारतको उत्तरप्रदेश, बिहार, झारखण्ड, राजस्थान र मध्यप्रदेशमा पनि मनाउने गरिन्छ । हिन्दु समुदायले मनाउने यो पर्वमा अहिले अन्य समुदायका महिला पनि रमाइलो मानेर सहभागी हुन थालेका छन् ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार