सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६३ जनालाई विभूषित गर्ने भएको छ ।
शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।
यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ ।
साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ ।
यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।
यस वर्ष ‘समावेशी र सीपमूलक शिक्षा स् स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
२०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पसलाई पुरस्कृत गर्न लागिएको हो ।
सार्वजनिक विद्यालयतर्फ देशभरबाट ३ वटा विद्यालय छनौट भएका छन् । जसमा श्री कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुली, श्री कमला माध्यमिक विद्यालय, ढुङ्ग्रेवास, कमलामाई–४, सिन्धुली र श्री नारायण माध्यमिक विद्यालय, रुमाल गाँउ, कुमाख –२, सल्यान रहेका छन् ।
निजी लगानीका विद्यालयतर्फ पनि ३ वटा विद्यालय छनौट भएका छन् । जसमा श्री प्रसादी एकेडेमी माध्यमिक विद्यालय, तफाल्होः, ललितपुर–५, सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँ, बुढानीलकण्ठ स्कुल, नारायणस्थान, बुढानीलकण्ठ रहेका छन् ।
प्राविधिक शिक्षालयतर्फ कोरिया नेपाल बहु प्राविधिक शिक्षालय,रुपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा मोरङ, लाइफ लाइन अस्पताल प्रालि, दमक झापा, आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ पुरस्कृत हुँदैछन् ।
उनीहरूलाई प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सम्मान गर्न लागिएको हो ।
त्यस्तै क्याम्पसतर्फ: पुल्चोक क्याम्पस ललितपुर, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, रुपन्देही, काठमाडौँ मोडेल कलेज, बागबजार, काठमाडौँ रहेका छन् । समाज कल्याण शिक्षा पुरस्कारतर्फ एसओएस बालग्राम, मध्यपुर ठिमी–२, भक्तपुर, कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर–४, सुर्खेत पुरस्कृत हुँदैछन् ।
हेर्नुस् नामावली:
संवाददाता । मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित