१९औँ एसियाली खेलकुदको क्रिकेटमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ७ बजे हान्झाउमा शुरु हुँदैछ ।
आजको खेल जितेमा नेपाल क्वाटरफाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । नेपाल र मङ्गोलियाबीचको खेलमा विभिन्न विश्व कीर्तिमान समेत बनेका थिए ।
टी–२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए ।
माल्दिभ्सको पहिलो रोजाइको टोली भने एसियाडमा सहभागी छैन । टी–२० वरीयतामा नेपाल १६औँ र माल्दिभ्स ७८औँ स्थानमा छ । नेपाल र माल्दिभ्सबीच अहिलेसम्म दुई वटा टी–२० खेल भएकोमा नेपाल विजयी भएको थियो ।
संवाददाता । आइतबार, असोज १४, २०८० मा प्रकाशित