काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुन्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयमा सरकारको जवाफ माग गरेका छन् ।
आज बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले गलत निर्णय भएकाले सरकारले त्यसको जवाफ दिनुपर्ने बताए । आममाफीको मुद्दा सर्वोच्च अदालतमा पुगिसकेको र सदनमा पनि कुरा उठेकाले सरकारले जवाफ दिनुपर्ने थापाको भनाइ छ ।
मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा रिट दिएकी छन् ।
‘रिगल’ विरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि ‘रिगल’ कैदमुक्त भएका थिए ।
संवाददाता । बिहिबार, असोज १८, २०८० मा प्रकाशित