नेकपा एमालेले चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुनेछ ।
यसअघि एमालेले मंगलबार (कात्तिक १४ गते) गते चियापान गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले चियापान एक दिन सारिएको हो ।
चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको नेता रिजालले जानकारी दिए । पायक पर्ने सर्वसाधारणहरू पनि चियापान समारोहमा उपस्थित हुन सक्नेछन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीलाई पनि बोलाइएको छ । यसअघि एमालेले एकीकृत समाजवादीलाई कुनै कार्यक्रममा पनि बोलाउने गरेको थिएन । एमालले माधव नेपाल नेतृत्वको समाजवादीलाई आफूले आयोजना गरेको कार्यक्रममा निमन्त्रणा गरेको यो पहिलो पटक हो ।
एमालेले नेकपा एसका अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानीत नेता झलनाथ खनाललाई पत्र काटेरनै चियापान समारोहमा निमन्त्रणा गरेको छ ।
संवाददाता । बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित