जाजरकोट र पश्चिम रुकुमका विभिन्न स्थानमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दु:ख प्रकट गर्दै प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुन:स्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न संघसंस्थालाई आव्हान गरेको छ । साथै, भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध पनि गरेकाे छ ।
गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् ।
संवाददाता । शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित