सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि १५७ जनाको मृत्यु भएको भनिएकोमा ४ जनाको नाम दोहोरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले स्पष्ट पारेको छ ।
स्थनीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम लेखिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्पष्ट पारेका छन् ।
यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्यांक प्रशासनले दिएको थियो । अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको संख्या यकिन भएको छ । जाजरकोटको भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
भूकम्पबाट ३३८ जना घाइते भएकामा २४३ जना उपचारपछि डिस्चार्ज भएका छन । अब ९५ जना उपचार गराइएका छन ।
यसैबीच, जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री समयमा पुग्न नसक्दा पीडित थप समस्यामा परेका छन् । बढ्दो चिसोले भूकम्प पीडितलाई कष्ट थपिएको छ ।
शुक्रवार रातिदेखि नै बाहिर रहेका प्रभावितहरु केहीले त्रिपाल पाए पनि त्यो पर्याप्त नभएको उनीहरुको गुनासो छ । ओढ्ने र ओछ्याने नहुँदा धेरैले चिसो भुइँमा रात कटाइरहेका छन् ।
खाद्यान्नलगायत राहत नपुग्दा सुत्केरी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा छन् । विभिन्न संघसंस्थाले पुर्याएका राहत वितरणमा ढिलाइ भएको छ ।
संवाददाता । सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित