जाजारकोट । जाजारकोटको भूकम्प प्रभावित क्षेत्रमा नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपाल काठमाडौं र अटोमोवाइल्स एशोसियशन अफ नेपाल कर्णाली प्रदेशले विभिन्न राहात समाग्री हस्तान्तरण गरेको छ ।
कार्तीक १७ गते राती जाजारकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण प्रभावित बनेको जाजारकोटको नलगाड नगरपालिका वडा नम्बर ११ मा अटोमोवाइल्स एशोसियशनले राहात समाग्री वितरण गरेको हो । विशेषगरी विद्यार्थीहरुलाई विभिन्न शैक्षिक समाग्रीहरु हस्तान्तरण गरिएको छ । अटोमावाइल्स एशोसियशन अफ नेपाल कर्णाली प्रदेशका अध्यक्ष तथा समाजसेवी भद्र भण्डारीको संयोजकत्त्वमा जनता प्राविका ८० जना विद्यार्थी, युवा बर्ष प्रावि बानियाँगाउँका ८० जना, बालशिक्षा कुदुका ३५ जना, बालशिक्षा कोठसल्लाका २० जना र गणेश प्रावि चौखाका १३३ जना विद्यार्थीलाई झोला, कापि, कलम र न्यानो कपडा वितरण गरिएको हो ।
यस्तै सोही वडाका ५० बर्षभन्दा माथिका वृद्धवृद्धालाई पनि न्यानो कपडा हस्तान्तरण गरिएको छ । जसमा २ सय ४६ थान ज्याकेट, ३ सय ५० थान स्वईटर, ५ सय थान टोपी, ५० थान ब्लाङ्केट र ४० थान सारी र भूकम्पबाट प्रभावित विभिन्न क्षेत्रमा एक सय थान पाल र ८ रोल कालो म्याट्रिक हस्तान्तरण गरिएको हो ।
राहात समाग्री वितरण गर्दै अटोमोवाइल्स एशोसियशन कर्णाली प्रदेशका अध्यक्ष भद्र भण्डारीले यो राहात सामाग्री देशभरका अटोमोवाइल्स्हरुको छाता संगठन नाडा अटोमोवाइल्स एशोसियशनले पठाएको बताए । सबैजना एकअर्काको सारथी बन्दै विपतको असर न्यूनिकरण गनुपर्ने उनको भनाइ छ । “विपत जहाँ जतिवेला पनि आउँनसक्ने भएकोले सबैजना पूर्वतयारी अवस्थामा बस्नुपर्छ । पूर्वसुचना बिना नै आउँने यस्ता विपत्को बेलामा हामीले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । विद्यार्थी यो देशकै उदाउँदो भविष्य भएकोले विपतबाट विद्यालय र विद्यार्थीमा पर्ने असरलाई न्यूनिकरण गर्न हामीले विद्यार्थीहरुलाई लक्षित गरी राहात समाग्री वितरण गरेका छौ ।” उनले भने ।
राहात वितरण कार्यक्रममा बोल्दै नलगाड नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष लाल बहादुर बानियाले यो वडामा अझैपनि राहात समाग्री पुग्न नसकेको बताउँदै अटोमोवाइल्स एशोसियशनले राहात वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै यो सहयोगले वडाका विद्यार्थीहरुलाई महत्वपूर्ण मदत पुग्ने बताए ।
यस्तै स्थानीयले सदरमुकामबाट टाढाको गाउँ भएकोले अहिलेसम्म पनि आफुहरुले राहात पाउँन नसकेको गुनासो गरेका छन् । राहात वितरणमा अटोमोवाइल्स एशोसियशन कर्णाली प्रदेशका अध्यक्ष, उपाध्यक्ष, महासचिव सहित विभिन्न सदस्यहरुको उपस्थिती रहेको थियो ।
संवाददाता । बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित