सुर्खेत । छिन्चुबाट सल्यान, जाजारकोट जाँदै गर्दा तपाईले भेरी नदिको किनारैमा एक सुन्दर बस्ती त पक्कै पनि देख्नुभएको होला । यो बस्ती कुन होला ? भनेर मनमनै जिज्ञासा पनि लागेको होला । यो सुन्दर बस्तीको नाम हो भुल्के । यो ठाउँ सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९ मा अवस्थित रहेको छ ।
स…र..ररर.. बगेको भेरी नदि किनारमा रहेका बाग्ला एकैनासका घरहरु, नदि छेउँमै समथर जमिन र बारीमा रोपिएका विभिन्न बालिहरुले यो बस्तीलाई झनै आकर्षक बनाएका छन् ।
जसरी हेर्दा घरहरु मिलेका र सुन्दर देखिन्छन् त्यसरी नै यहाँका रितिरिवाज र संस्कृती पनि मिलेको छ । यो बस्ती पुरै मगर समुदायको बस्ती हो । यहाँका स्थानीयका अनुसार करिब ३ घर बाहेक अन्य सबै घर मगर समुदायका रहेका छन् । यहाँ मगरहरुका परम्परागत मौलिक रितिरिवाज र चालचलनहले भुल्केको शोभा झनै सुन्दर बनेको छ ।
भेरी नदिको किनारैमा यो बस्ती रहेकोले पानीको पनि राम्रो सुविधा भएका कारण यहाँका स्थानीयहरु बिशेषगरी गहु, मकै, विभिन्न नगदेबाली र तराकारीहरु जस्ता खेतिबालीहरु लगाउँछन् ।
संवाददाता । मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित