सुर्खेत । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी, सोही वडाका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटना गए राति १० बजे भएको कार्यालयले जनाएको छ । दुर्घटनामा अन्य नौजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, वडा नं १० का ३८ वर्षीय रमेश सार्की, वडा नं ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।
घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टरका चालक फरार रहेका छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
आठबिसकोट – १० को तिरीकोटको भित्री सडक खण्ड अन्तर्गत नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहत सामग्री ट्याक्टरमा लगिँदै थियो।
घुम्तिमा मोड्ने क्रममा ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तलको मोडमा खसेको प्रहरीले जनाएको छ ।
संवाददाता । बिहिबार, पुष ०५, २०८० मा प्रकाशित