सुर्खेत । ललितपुर बालकुमारीमा प्रदर्शनको क्रममा दुईजनाको मृत्यु भएको विषयलाई लिएर सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलन भइरहेको छ ।
शनिबारबाट सुरु भएको आन्दोलन भोलि पनि जारी रहने आन्दोलन संघर्ष समितिका सदस्य रेखा थापाले जानकारी दिइन । उनका अनुसार भोलि कर्णाली आन्दोलन संघर्ष समितिले प्रदेशको राजधानी वीरेन्द्रनगरमा दिउँसोको १२ बजेसम्म सरकारी सवारी साधन बन्द गर्ने र त्यसपछि जिल्ला प्रशासन कार्यालय सुर्खेत घेराउ गर्ने घोषणा गरेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
शनिबारदेखि सुरू भएको आन्दोलन माग पूरा नभएसम्म नरोक्ने मृतकका आफन्तहरुले बताएका छन् ।
संवाददाता । आइतबार, पुष १५, २०८० मा प्रकाशित