सुर्खेत । विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा अपराजित हुँदै समूह ‘ए’ र समूह ‘बी’ को विजेता बनेका छन् ।
दुबै टोली अपराजित हुँदै समूह विजेता बनेका हुन् । साविकको विजेता टोली एपीएफले बागमती प्रदेशलाई सोझो सेटमा हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्यो ।
सुर्खेतमा जारी प्रतियोगितामा मंगलबार भएको दिनको पहिलो खेलमा समूह ‘ए’ को एपीएफले बागमतीलाई २५–७,२५–१८ र २५–१३ ले हराउँदै समूह विजेता बन्यो ।
वीरेन्द्रनगरको खुलामञ्चको कोर्टमा समूह ‘बी’को खेलमा आर्मीले मधेश प्रदेशलाई सोझो सेटमा हराउँदै समूहका विजेता बन्यो । आर्मीले मधेशलाई २५–२०, २५–१९ र २५–१४ ले पराजित गरेको थियो ।
योसँगै समूह समूह ‘ए’ बाट एपीएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् । यता समूह ‘बी’ बाट आर्मी सेमिफाइनलमा पुगेपनि अर्को टोलीको टुंगो लाग्न बाँकी छ ।
आज हुने गण्डकी प्रदेश र कर्णालीको खेलपछि दोस्रो टोलीको टुंगो लाग्ने छ । कर्णालीले सोझो सेटले जित्ने बाहेक सबै खाले नतिजाले गण्डकी सेमिफाइनल पुग्नेछ। प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
संवाददाता । मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित