किन पडकिन्छन् ग्यास ?
एलपीजी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण हो । सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास कहिलेकाँही पडकिने गर्दछ ।
यसबाहेक कमसल तथा गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारणले पनि ग्यास पडकिन सक्दछ ।
त्यस्तै लामो समयसम्म सिलिण्डर बिना प्रयोग राखीराख्ने जस्ता कार्यले समेत सुरक्षाको जोखिम निम्ताउन सक्छ । त्यस्तै, कैयौं वर्षसम्म ग्यास स्टकमा रहीरहने तर प्रयोगमा नआउँदा समेत त्यसले जोखिम बढाउने गर्छ।
सिलिण्डर कसरी सुरक्षित गराउने ? यस्ता छन् खाना पकाउने ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
– डिलरबाट ल्याउँदा वा लैजाँदा सिलिण्डर कुनै पनि अवस्थामा नगुडाउने ।
– डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्ने ।
– भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्ने ।
– कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग नगर्ने ।
– ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्ने ।
– ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्ने । सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्ने ।
– खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्ने ।
– खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला राख्ने, खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्ने ।
– भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस्। ग्यास भरिएको सिलिण्डरको भार बढी नै हुन्छ। त्यसमाथि सामान राख्दा भार थपिने भएकाले यसले जोखिम बढाउँछ।
– एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस्। एकातिर खाना पकाइरहँदा अर्को सिलिण्डरबाट ग्यास लिक भएमा त्यो निकै जोखिम हुन्छ।
– सकेसम्म सिलिण्डरलाई साइडमा आधार दिने गर्नुहोस्। ताकि भुइँचालो जाँदा हुने कम्पनबाट सिलिण्डर नढलोस्। त्यसका लागि कुनो प्रयोग गर्न सक्नुहुन्छ।
– सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्। कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन। त्यस्तै ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुनु हुँदैन्।
– सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस्। त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिण्डरको छुट्छाछुट्टै परीक्षण गर्नुहोस्। यदि सिलिण्डरबाटै लिक भएको भए चुल्हो, लाइटर, धुप तथा कोठाको बिजुली बत्ती निभाउनुहोस तथा सबै झेयाल ढोका खोलि ग्यासको मात्रा घटाउने तर्फ लाग्नुहोस्।
– रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ। सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कँस्नुहोस, खाना बनाइसकेपछि बन्द गर्ने गर्नुहोस्।
सिलिण्डरको म्याद थाहा पाउने उपाय
आफ्नो भान्सामा प्रयोग भएको सिलिण्डरको म्याद जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन्। एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न भने पाइँदैन।
सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन्।
यस्ता ग्यासको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन्।
ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ।
त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २० अंक लेखिएको भएमा त्यसको म्याद २०२० सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २०’ लेखिएको सिलिण्डरको म्याद सन् २०२० को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ। यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए १६ ले जनाउँदछ। तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ।
दुर्घटना पहिचान र सतर्कता
सावधानी अपनाउँदा अपनाउँदै पनि कहिलेकाँही ग्यास चुहावट हुन सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा उपभोक्ताले तत्कालै अपनाउन सक्ने उपाय यस्ता छन्ः–
– ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।
– ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
– ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ ।
– ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने ।
– ग्यासको अनावश्यक भण्डारण नगर्ने ।
ग्यास चुहावट भएमा यी कुराहरुमा ध्यान दिनुपर्छ
१. खाना पकाउने स्थानमा एलपी ग्यासको तिखो गन्ध आइरहेको छ भने ग्यास चुहिएइको भन्ने बुझ्नु पर्छ । ग्यास लिक भएमा पहिला रेगुलेटर र पछि चेल्होको नव बन्द गर्नु पर्छ ।
२. झ्याल ढोका खुल्ला र झिल्का निस्किने वस्तुहरु जस्तैः ग्यास चुल्हो, सलाई, लाइटर, धुप आदी नबाल्ने । विधुतजन्य उपकरणको प्रयोग नगर्ने ।
३. ग्यास लिक भएमा रेगुलेटरलाई सिलिण्डरबाट छुटाई सिलिण्डरमा सेफ्टि क्याप लगाई बाहिर खुल्ला स्थानमा राख्ने र यथासिग्र नजिकको ग्यास विक्रेता वा ग्यास उद्योगमा सम्पर्क गर्ने गर्नु पर्दछ।
संवाददाता । शनिबार, माघ ०६, २०८० मा प्रकाशित