काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरू एउटै केन्द्रमा एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।
मङ्गलवारबाट काठमाडौंमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुनुपर्ने बताए । उनले सच्चा कम्युनिस्टहरू एकताबद्ध हुन जति ढिलो हुन्छ त्यति नै धेरै अहिलेको राजनीति परिवर्तनमा घाटा हुने बताए ।
उनले आफूबाट भएका कमी, कमजोरीलाई आत्मालोचना र समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कम्युनिष्टहरुले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको नयाँ लहर सृष्टि गर्न सकिने जिकिर गरे ।
उनले क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेहरूको प्रतिवाद गर्न आवश्यक रहेको बताए । अध्यक्ष दाहालले सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरूलाई अपमान गर्ने छुट कसैलाई नरहेको बताए ।
उनले भने ‘आज हामी यो २९ औं दिवस मनाउँदै गर्दा हामीले आज यो राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा बसेर जनयुद्ध दिवस मनाउँदै छौँ । अर्कोतिर हिजोका राजा महाराजा र तिनका भरौटे भन्छु म । तिनीहरू बाहिर गणतन्त्रका विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रकाबिरुद्ध दुःशाहसपूर्ण ढंगका गतिविधि गर्ने जमर्को गर्दैछन् । हामी ठिक त्यस्तो बेलामा जनयुद्धको यो २९ औं दिवस मनाउँदै छौँ । एक पटक फेरि हामी जाग्नुपर्ने, एक पटक एकताबद्ध हुनुपर्ने र दृढताकासाथ यसलाई अपमानित गर्न खोज्ने ती महिला, दलित, जसले जनयुद्धमा अभूतपूर्व इतिहास कायम गरे । रेकर्ड बनाए । र अहिले समावेशी र समानुपातिकताको एउटा चरणको पहिचान र अभ्यास गर्दैछन् । हामीले एउटा नयाँ संकल्प लिनुछ । त्यो दुःशाहस गर्नेकाबिरुद्ध प्रतिवाद गर्नुछ । उनीहरूलाई त्यो छुट छैन । सचेत रूपले सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरूलाई अपमान गर्ने तिनीहरूलाई कुनै अधिकार छैन । त्यो घोषणा हामीले गर्नुछ । हामी एक भएर जाँदा त्यसलाई रोक्न सकिन्छ । हामीलाई पहिला पनि सखाप पार्न खोजेका थिए, भएनौँ । अहिले हामीलाई जसरी आरोपित गर्ने एउटा भाष्य बनाउन खोजिएको छ, क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्ने त्यसको प्रतिवाद गर्नैपर्छ । आजको दिन माओवादी जनयुद्धका सहभागी सम्पूर्ण नेता कार्यकर्ताहरूलाई अब ढिलो नगरी हामी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपिल गर्दछु । ढिलो नगरौँ । जति ढिलो ग¥यौँ त्यति ठूलो क्षति र यो राजनीति परिवर्तनको त्यति ठूलो घाटा हुनसक्छ । त्यसकारण आउनुस्, बसौँ । समीक्षा गरौँ । कहाँ कमी भए, खुला कम्युनिष्ट मनले आत्मालोचना गरौँ । हामीले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ ।’
अध्यक्ष दाहालले समाजवादको नयाँ अभियान सुरु गर्ने जमर्को गरिरहेको बताए । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समाजवादको भ्रूण रोप्ने अभियान रहेको बताए ।
संवाददाता । मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित