काठमाडौँ । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवापुस्ताले यसलाई उत्सवकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको हो ।
युवापुस्ताले फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् । त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको सातालाई ‘विक अफ लव’का रूपमा प्रेमप्रति समर्पित गरिँदै आएको छ ।
यो भ्यालेन्टाइन सप्ताहको सबैभन्दा महत्त्वपूर्ण दिन हो जसलाई भ्यालेन्टाइन डे’का रूपमा मनाइन्छ । भ्यालेन्टाइन सप्ताहका अन्य दिनहरूको तुलनामा यो दिन सबैभन्दा विशेष र रोमान्टिक हुन्छ । आफ्नो प्रेमी–प्रेमिकासँगको सामीप्यता, आत्मीयता एवं प्रेमलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पुर्याउने सबैभन्दा राम्रो अवसरका रूपमा लिइन्छ यो दिनलाई ।
सूचना प्रविधिको प्रयोगले भ्यालेन्टाइन डे’को रौनक नेपालमा एक दशक यता ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।
यसरी सुरु भयो भ्यालेन्टाइन – डे
भ्यालेन्टाइन डे’को सुरुआत सन् २६९ मा भएको मानिन्छ । रोमन सम्राट् क्लाउडियस द्वितीयले जनताहरू प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए ।
तर, उनको आदेशको अवज्ञा गर्दै पादरी भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा(युवतीलाई भटाभट विवाह गराइदिएपछि आक्रोशित सम्राट्ले उनलाई फेब्रुअरी १४ अर्थात् आजकै दिनमा मृत्युदण्ड दिएका थिए ।
झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लव फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा हरेक फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’का रूपमा मनाउने गरिन्छ ।
संवाददाता । बुधबार, फागुन ०२, २०८० मा प्रकाशित