सुर्खेत । निजी क्षेत्रको तारा एयरलायन्सले कालिकोटको कोटबाडा सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको छ । भोली प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन हुने कोटबाडा सुनथराली विमानस्थलमा आज विहान तारा एयरलायन्सले सफल परीक्षण उडान गरेको हो ।
उद्घाटन पूर्व तयारीका सबै पक्षको अध्ययन गर्नकका लागि तारा एयरको (नाईनएन–एकेएल) विमानले परीक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहराले बताए । उनले आज बिहान ९ः२१ बजे नेपालगञ्जबाट उडेको क्याप्टेन पीएस नगरकोटीसहित नौ जनाको प्राबिधिक टोलीसहितले सुनथराली विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको जनाए ।
उनका अनुसार प्रधानमन्त्रीद्वारा सोमबार विहान १० बजे सुनथराली विमानस्थलको उद्घाटन कार्यक्रम तयारीलाई तीव्र पारिएको छ । परीक्षण उडानका लागि आएको प्राविधिक टोलीलाई नरहरिनाथ गाउँपालिकाको टोलीसँगै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । विमानस्थलको फागुन १४ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
संवाददाता । आइतबार, फागुन १३, २०८० मा प्रकाशित