सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कंडेल कर्णालीको चौथो मुख्यमन्त्री बन्ने निश्चित भएको छ । राजकुमार शर्माले कर्णाली प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कंडेल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
केन्द्रमा सत्ता समिकरण फेरिएसंगै कर्णालीमा नेकपा एमालेले नेतृत्व गर्ने निर्णय बमोजिम कंडेल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
यता राजकुमार शर्माले भने मुख्यमन्त्री पदबाट राजीनामा दिँदै गर्दा भने केन्द्रको निर्णयप्रति असन्तुष्टि समेत जनाएका थिए । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्ततः राजीनामा दिन बाध्य भएका छन् ।
सम्भवतः यामलाल कंडेल आजै कर्णालीको चौथो मुख्यमन्त्री बन्नेछन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुमा माओवादीका १३, एमालेका १० र साजवादीका १ सहित २४ सांसद छन् । यीमध्य एमालेका नन्दा गुरुङ सभामुख भएकाले नयाँ सरकारका लागि स्पष्ट बहुत २० सांसद भए पुग्छ । तर नयाँ समिकरणअनुसार तीन वटै दलका २३ जना सांसद छन् । सभामा काँग्रेसका १२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन् ।
संवाददाता । बुधबार, चैत २१, २०८० मा प्रकाशित