काठमाडौँ । काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने परम्परा छ ।
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गर्नेछ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।
पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको मान्यता छ ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने राजधानीवासीमा विश्वास छ ।
घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।
संवाददाता । सोमबार, चैत २६, २०८० मा प्रकाशित