बाँकेमा आफैले बनाएको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन् । शनिबार राति जिल्लाको राप्तिसोनारी गाउँपालिका एक १६ वर्षीय किशोर घाइते भएका हुन् ।
उनले युट्यूब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोलजस्तो हतियार बनाएका थिए । तर, पाइन्टको पछाडिको गोजीमा राखेको उक्त पेस्तोल निकाल्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ ।
पेस्तोल पड्किँदा उनको दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिएको छ । उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगञ्ज बाँके पठाइएको छ ।
उनको अवस्था सामान्य रहेको र हतियार प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
संवाददाता । सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित