नेपालकै ठूलो एवम् मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खर्चेर लक्जरी रिसोर्ट खोल्ने भएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच सम्झौता हुने भएको हो ।
सवा अर्ब रुपैयाँ लागतमा बनाउने भनिएको रिसोर्ट कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुने दाबी गरिएको छ । रिसोर्ट बनाउन एक्सपर्ट ग्रुपका तर्फबाट सञ्जीव शर्मा र बद्री अर्याल तथा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्ने जानकारी दिएका छन् ।
प्रस्तावअनुसार मुगुको छायाँनाथ नगरपालिकास्थित मुर्माटपमा ६० कोठा सहितको रिसोर्ट बनाइने छ । लक्जरी रिसोर्टले ८० रोपनी क्षेत्रफल ओगट्नेछ । सम्झौता भएको तीन महिनाभित्र निर्माणकार्य थाल्ने भनिएको रिसोर्टमा पहिलो चरणमा ४० र दोस्रो चरणमा २० कोठा बनाइने लगानीकर्ताहरूले बताएका छन् ।
कर्णालीको स्थानीय संस्कृति झल्किनेगरी नेपाली डिजाइनमा निर्माण गरिने भनिएको रिसोर्ट समुद्री सतहदेखि तीन हजार ७०० मिटर उचाइमा रहनेछ । रिसोर्ट दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन ल्याइने लगानीकर्ताहरूले जानकारी दिएका छन् ।
संवाददाता । सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित