सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-४ भैरबस्थानमा यहि बैशाख २६ गतेबाट सञ्चालनमा आएको तेस्रो नमुना कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।
नमुना युवा क्लबले आयोजना गरेको प्रतियोगितामा सन्देश गहतराज र जीवन रास्कोटीको टिम विजयी भएको छ । विजेताले नगद ४२ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै अम्मर थापा र निम शाहीको टिम उपविजेता बनेको छ । उपविजेता टिमले नगद ३२ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सान्तवना स्थान हासिल गर्ने दुई टिमलाई नगद ११ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
चार दिनसम्म संचालन भएको प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कुल ३४ टिम सहभागि भएका थिए ।
तेस्रो नमुना कपको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले विजेता सम्पूर्ण टिमहरुलाई बधाई तथा शुभकामना दिँदै नगरपालिकाले आगामी बजेट निर्माणमा खेलकुद क्षेत्रका विषयहरुलाई पनि समेटेर शिर्षकमै बजेट राखेर ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । खेलकुदको विकास र खेलाडीको प्रोत्साहनको लागि नगरपालिका सधै तयार रहेको उनको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै नमुना युवा क्लबका अध्यक्ष गणेशमान खनालले खेलले व्यक्तिको स्वास्थ्य, समाजसंगै समग्र देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसको विकासमा सबै लाग्न आग्रह गरेका छन् । खेलकुदको आयोजना गर्दा उपयुक्त खेल मैदान नहुँदा खेप्नुपरेको सास्तीहरुको स्मरण गर्दै उनले आगामी दिनमा यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । नमुना युवा क्लबले विभिन्न सामाजिक गतिबिधिहरुसंगै खेलकुदका कार्यक्रमहरु पनि आयोजना गर्दै आएकोले आगामी दिनमा पनि यसले निरन्तरता दिने उनको भनाई छ ।
संवाददाता । शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित