सुर्खेत । भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्पबाट प्रभावित छोरीहरूलाई श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति वितरण गरेको छ ।
फाउन्डेसनले गैर-आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन/तीन पालिकाका १५ जना छोरीहरूलाई छात्रवृत्ति वितरण गरेको हो ।
जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा आयोजित कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएको अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन् ।
उस्तै रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चौरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिइन् । १५ जना छात्राहरूलाई स्कुल पोशाक, स्टेशनरी सामाग्रीलगायत वितरण गरिएको थियो ।
छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएमा, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् ।
उनले फाउन्डेसनले छनोट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिकामार्फत आयआर्जनको कार्यक्रम दिइने बताइन् । अति आवश्यक ठाउँमा सहयोग पुगेकोले यो सहयोग उच्च शिक्षा अध्ययनसम्म कायम राख्न आग्रह गर्दै उनले भनिन्, `नगरपालिकाबाट हुने सहयोग गर्न हामी तयार छौं ।’
जनज्योति मावि आठवीसकोट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पोशाक र लेख्नका लागि कापी र कलमसम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट बन्चित रहेको बताइन् । `भुकम्पपछि त रूकुम र जाजरकोटमा यो ठूलो समस्या बनेको छ,झ उनले भनिन्,’ संकटका बेला ज्योति फाउन्डेसनको सहयोग धेरै महत्वपूर्ण छ ।
फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयोग गर्ने बताइन् । उनले छात्रवृत्ति दिइएका छात्राहरूको स्वास्थ्य विमाको जिम्मेवारी पनि फाउन्डेसनले लिने बताइन् ।
उनले फाउन्डेसनको स्थापना लगत्तै जाजरकोट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छोरीहरूलाई सहयोग गरिएको बताउँदै आगामी दिनमा कर्णाली अरू जिल्लाहरूमा पनि छोरीहरूका लागि कार्यक्रम सन्चालन गरिने बताइन् ।
संवाददाता । आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित