सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–२ सेरीपाटाका सर्प शाहीले ६२ बर्षपछि अपांगता परिचयपत्र पाएका छन् । जन्मजात अपांगता भएका उनले केही दिनअघि अपांगता परिचय पत्र पाएका हुन् ।
उनलाई गाउँपालिकाले ‘ख’ वर्गको अपांगता परिचयपत्र दिएको हो ।
दैलेखमा सञ्चालित सेभ द चिल्ड्रेनको पहँच परियोजनामार्फत उनलाई अपांगता परिचय पत्र दिलाउन पहल गरिएको थियो । सुन्न र बोल्न नसक्ने शाहीलाई राष्ट्रिय परिचयपत्र र अपांगता परिचयपत्र दिलाउन परियोजनाबाट सहयोग गरिएको परियोजनाका दिनेश थापाले जानकारी दिए ।
उनका अनुसार शाहीले २०४४ सालमा नागरिकता प्राप्त गरेका थिए । आफैंले बोल्न, सुन्न नसक्ने भएकाले अहिलेसम्म राज्यबाट सुविधाका रुपमा दिईएको अपांगता परिचयपत्र उनले पाउन नसकेको थापाले बताए ।
परिचयपत्र पाएसँगै शाहीले अब अपांगता भएका व्यक्तिलाई बर्गअनुसार दिईने सेवासुविधा पनि पाउनेछन् ।
संवाददाता । बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित