जाजारकोट । जाजरकोटमा पहिरोले घर पुरिँदा श्रीमान-श्रीमती बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका-६ तल्लो धुममा अविरल वर्षापछि आइतबार बिहान २ः५० बजे पहिरो खस्दा मानबहादुर चलाउनेको घर पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ४७ वर्षीय चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेम कुमारी चलाउने घरसँगै पहिरोमा पुरिएका छन् ।
उक्त घरमा चार जना थिए । मानबहादुरकी छोरी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल छिन् । उनी पहिरो आउनुअघि नै घरबाट निस्किएको प्रहरीले जनाएको छ।
अहिले पहिरोमा पुरिएका चलाउने दम्पत्तीलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पानी परिरहेका कारण उद्धारमा केही कठिनाइ भएको पनि बताइएको छ ।
संवाददाता । आइतबार, भदौ २३, २०८१ मा प्रकाशित