काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाअन्तर्गत नेपालले क्यानडाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
लिग–२ अन्तर्गत यसअघि घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराब लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार व्यहोर्दा एक खेलमा मात्र जित निकालेको थियो ।
आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । आजको खेलमा जित निकाले नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिनेछ ।
यता, तालिकाको शीर्ष तीनभित्र रहेको क्यानडाले भने लिग–२ मा मिश्रित नतिजा निकालेको छ । आठ खेलमध्ये चारमा जित र चार खेलमा हार व्यहोरको क्यानडा आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । क्यानडामा हुने शृंखलामा नेपाल, क्यानडा र ओमान सहभागी छन् । नेपालले आजको खेलपछि बुधबार ओमानसँग खेल्नेछ । यस्तै, नेपाले आइतबार पुनः क्यानडासँग र मंगलबार ओमानसँग खेल्ने तालिका छ ।
संवाददाता । सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित