सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विरुद्ध उच्च अदालत सुर्खेतमा परेको रिट खारेज भएको छ । भदौ २८ गते तोकिएको स्ववियुको निर्वाचन एक दिनअघि उच्च अदालत सुर्खेतमै रिट परेपछि तत्कालका लागि स्थगित भएको थियो ।
विश्वविद्यालयको स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका पाँचौं सेमेस्टरमा अध्ययनरत रञ्जित विक लगायत विद्यार्थीहरुले मतदाता नामावलीमा आफूहरुको नाम छुटेको भन्दै उच्च अदालत सुर्खेतमा रिट हालेका हुन् ।
दुवै पक्षलाई अदालतले आइतबार छलफलका लागि बोलाएको थियो । छलफलपछि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र माधव धितालको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।
‘निवेदकले स्ववियु निर्वाचन कार्यविधिअनुसार तोकिएको समयमा नामावलीउपर दावीविरोधको निवेदन नदिएको हुँदा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिईरहनुपरेन, कानुनबमोजिम गर्नू ।’ अदालतले जारी गरेको परमादेशमा भनिएको छ ।
उच्चको यो आदेशसँगै अब स्ववियु निर्वाचनका मध्यपश्चिम विश्वविद्यालयले प्रक्रिया अघि बढाउनेछ । स्ववियु निर्वाचन निर्देशिका, २०८१ बमोजिम ३० असारमा प्रकाशित भएको मतदाता नामावलीमा आफ्नो नाम नसमेटिएको भन्दै २७ भदौमा उच्चमा रिट परेको थियो ।
संवाददाता । आइतबार, असोज ०६, २०८१ मा प्रकाशित