काठमाडौँ । बाढी पहिरोका कारण देशभरका २० वटा राजमार्ग अवरुद्ध छन् । बाढी पहिरोले राजधानी काठमाडौँलाई जोड्ने राजमार्ग तथा मुख्य सडकहरू पनि अवरुद्ध छन् ।
सडक विभागका अनुसार २० राजमार्गको ६० ठाउँमा सडक अवरुद्ध छ । यसै गरी ६ वटा पुलमा क्षति पुगेको छ । बाढी पहिराले चार वटा पक्की पुल र दुई वटा बेली ब्रिज बगाएको छ । बिपी राजमार्गमा एक हजार चार सय मिटर जति सडक नै बगेको छ ।
यसै गरी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, अरनिको राजमार्गलगायतका विभिन्न जिल्लासँग जोड्ने सडक पनि अवरुद्ध छन् । जसका कारण राजधानीसँग जिल्लाको आवतजावत टुटेको छ । ३८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न सक्ने अवस्था छ ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता ई। उमेश विन्दु श्रेष्ठका अनुसार सडक र पुल नै बगाएको ठाउँमा यातायात सूचारु गर्न तत्काल सम्भव छैन । तर, पहिरो गएको स्थानमा पहिरो पन्छाउने र यातायात सूचारु गर्ने प्रयास भइरहेको श्रेष्ठले प्रशासनलाई बताए ।
मुग्लिङ–काठमाडौँ सडक खण्डमा पर्ने झ्याप्ले खोलामा गएको पहिरो पन्छाएर बेलुकासम्म सडक खुल्न सक्ने उनले बताए । काठमाडौँ छिर्ने अन्य सडक पनि बन्द छन् ।
विभागका अनुसार नागढुंगा–मुग्लिङ, नारायणगढ–मुग्लिङ, मुग्लिङ–पोखरा, बेनी–जोमसोम, बिपी राजमार्गको काभ्रे र सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड, पुष्पलाल राजमार्गको सिन्धुली, खोटाङ र ओखलढुंगा खण्ड बढी प्रभावित छन् ।
संवाददाता । आइतबार, असोज १३, २०८१ मा प्रकाशित